एजेन्सी । दक्षिण कोरियन क्लब एफसी सोलले घरेलु मैदानको दर्शक बस्ने सिटमा 'सेक्स डल' राखेको विषयमा माफी मागेको छ ।
कोरियन के लिग अन्तर्गत आइतबार ग्वान्जुविरुद्धको होम खेलमा सोलले दर्शक बस्ने सिटमा सेक्स डल राखेको थियो ।
कोरोना भाईरसको महामारीपछि के लिग दर्शक बिना बन्द रंगशालामा भईरहेको छ । तर, सोलले भने दर्शकको अभाव मेट्न भन्दै सेक्स डल दर्शक बस्ने स्थानमा राखेको थियो ।
घरेलु मैदानमा १-० को जित निकालेको खेलमा सोलले २८ महिला र २ पुरुष सेक्स डल राखेको थियो ।

तर, चौतर्फी विरोध भएपछि क्लबले गल्ती भएको भन्दै माफी मागेको छ । क्लबले खेलको क्रममा राखिएको मानव आकृति सेक्स डल नभएको समेत बताएको छ ।
'हामी हाम्रा समर्थकहरुसँग माफी माग्न चाहन्छौं । हाम्रो खेलमा राखिएको पुतलाको बारेमा हाम्रा समर्थकहरु दुखी छन्,' क्लबले इन्स्टाग्राममा भनेको छ, 'हामीले सुरुबाट नै पुष्टि गर्यौं कि हामीले स्ट्यान्डमा स्थापना गरेका पुतलाहरूको वयस्क खेलौनासँग कुनै सम्बन्ध थिएन । यद्यपि तिनीहरू वास्तवमै वास्तविक मानिसजस्तो देखिन्छन् ।'

