एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड वायन रुनीले पूर्व प्रशिक्षक लुइस भान गाललाई बर्खास्त गर्नु गल्ती भएको बताएका छन् ।
द म्यानेजर र टोटल पर्सन पुस्तकसँग कुरा गर्दै पूर्व कप्तान समेत रहेका रुनीले भान गाललाई बर्खास्त गर्नु छिटो भएको बताएका हुन् ।
'लुइसलाई बर्खास्त गर्दा म ध्वस्त भएको थिए । मेरो लागि उनीसँग काम गर्नु खुसीको कुरा हो,' रुनीले भने, 'यदि हामीले उनलाई तेस्रो वर्षसम्म राख्न सकेको भए हामी धेरै बलियो हुने थियौं ।'
खराब प्रदर्शन गरेपछि डच प्रशिक्षक भान गाललाई युनाइटेडले सन् २०१६ मा बर्खास्त गरेको थियो । युनाइटेडलाई प्रिमियर लिगको शीर्ष चारमा पुर्याउन असफल भएपछि उनी बर्खास्तमा परेका थिए । युनाइटेडमा दुई वर्ष रहदा गालले एक पटक एफए कप जितेका थिए ।
भान गाललाई बर्खास्त गर्दै युनाइटेडले जोसे मोरिन्होलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो । मोरिन्होले भने युनाइटेडलाई युरोपा लिग र ईएफएल कप जिताएका थिए ।
यस्तै रुनीले आफुले अन्य प्रशिक्षक भन्दा भान गालबाट धेरै कुरा सिकेको बताए । भान गालकै समय रुनी युनाइटेडका कप्तान बनेका थिए ।
'सबै कुराहरु सुधार हुँदै थियो र खेलाडीहरूले उनको दर्शन बुझ्न थालेका थिए। ती दुई वर्षमा मै अन्य प्रशिक्षक भन्दा धेरै सिके,' रुनीले भने, 'त्यस कारण म उहाँप्रति सदा कृतज्ञ रहनेछु । मलाई कप्तान बनाएकोमा मात्र होइन ।'
त्यस सिजन युनाइटेडलाई खेलाडीको चोटले सताएको समेत रुनीले बताए । १२ खेलाडीले चोट बोकेको कारण युनाइटेड त्यस समय उत्कृष्ट टिम नभएको रुनीको भनाई छ ।