एजेन्सी । बोरुसिया डर्टमण्डका स्टार अर्लिङ हालाण्डले स्पेनिस क्लब रियल मड्रिड जाने हल्लालाई नकारेका छन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै युवा फरवार्ड हालाण्डले आफु डर्टमण्डमा केन्द्रित भएको बताउँदै रियल जाने हल्लालाई अस्वीकार गरेका हुन् ।
डर्टमण्डमा सनसनी प्रदर्शन गरेपछि रियलले १९ वर्षे फरवार्ड हालाण्डमा नजर लगाएको थियो । रियलले हालाण्ड अनुबन्ध गर्न चाहेको समाचार बाहिरिएको थियो ।
तर, नर्वेका युवा फरवार्डले भने त्यसलाई नकारेका छन् ।
'म यहाँ केन्द्रित छु । मलाई चाहनेमा ध्यान दिएको छैन,' स्काई स्पोर्ट्ससँग हालाण्डले भने,'म मेरो कामबारे सोच्छु जुन मलाई मन पर्छ । मेरो ध्यानमा यसैमा छ ।'
जर्मन क्लब डर्टमण्डमा अविश्वसनीय प्रदर्शनपछि हालाण्ड युरोपमा सर्वाधिक खोजिएको फरवार्ड बनेका छन् ।
जनवरीमा साल्जवर्गबाट डर्टमण्ड आएका हालाण्डले ११ खेलमा १२ गोल गरिसकेका छन् ।
'पक्कै पनि मैले डर्टमण्डमा राम्रो सुरुवात गरे । हरेक दिन सुधार गर्न म केन्द्रित छु । म अझै राम्रो गर्ने कोशिस गर्ने छु,' हालाण्डले भने ।
कोरोना भाईरसको महामारीपछि स्थगित बुन्डेसलिगा यहीँ शनिबारबाट सुचारु हुँदैछ ।
यस सिजन डर्टमण्ड दोस्रो स्थानमा रहेको छ । डर्टमण्ड शीर्ष स्थानको वायर्न म्युनिख भन्दा ४ अंकले पछि रहेको छ ।