एजेन्सी । कोरोना भाईरसको महामारीको कारण स्थगित प्रिमियर लिगका बाँकी खेल 'होम एण्ड अवे' कै आधारमा खेल्नु पर्नेमा क्लबहरुले जोड दिएका छन् ।
प्रिमियर लिगका क्लबहरुले सोमबार बसेको बैठकमा 'होम एण्ड अवे' कै आधारमा सिजन समाप्त गर्नु पर्ने राय व्यक्त गरेका छन् ।
यस अघि प्रिमियर लिगले सिजनको बाँकी खेल न्युट्रल भेन्युमा खेलाउनेबारे छलफल अघि बढाएको थियो ।
तर, केहि क्लबले न्युट्रल भेन्युमा खेल्न अस्वीकार गरेको थियो । शीर्ष डिभिजनका तीन क्लब वाट्फोर्ड,एस्टन भिल्ला र ब्राइटनले न्युट्रल भेन्युमा खेल्न अस्वीकार गरेको थियो ।
'यदि सम्भव भएमा सबै 'होम एण्ड अवे' मा खेल्न रुचाउँछन्,' प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले भने, 'स्पष्ट देख्न सकिन्छ कि केही क्लबहरू अरूको तुलनामा अझ बढी कडा प्रस्तुत भएका छन् । हामी ती अधिकारीहरूसँग वार्ता गरिरहेका छौँ । प्रिमियर लिग सुचारुका लागि सबैसँग सल्लाह लिईरहेका छौं ।'
कोरोनाको महामारीपछि गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ । प्रिमियर लिगले आगामी जुनबाट लिग सुचारू गर्ने तयारी गरिरहेको छ ।
लिग सुचारु भएपनि खेलहरु दर्शकबिना बन्द रंगाशालामा खेलाईने छ । यस्तै इंग्ल्यान्ड सरकारले सोमबार मात्र आगामी जुन १ सम्म सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको थियो ।
'सिजन पुरा गर्न हामी जिम्मेवार, सुरक्षित र सहज तरिकाका लागि काम गरिरहेका छौं,' मास्टर्सले भने, 'खेलाडीहरू र व्यवस्थापकहरूसँग कुरा गरिसकेपछि कुनै निर्णय गरेका छैनौँ । अर्को बैठक यस हप्ताको अन्तिमका लागि निर्धारण गरिएको छ ।'
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।