एजेन्सी । स्पेनिस ला लिगा फुटबलका अध्यक्ष जाभियर टेबासले कोरोना भाईरसको कारण स्थगित ला लिगा आगामी जुन महिनाबाट सुचारु हुने विश्वास व्यक्त गरेका छन् ।
मुभीस्टारसँग कुरा गर्दै अध्यक्ष टेबासले ला लिगा जुन १२ बाट सुचारु हुनेमा आफु आशावादी भएको बताएका हुन् ।
कोरोनाको कारण ला लिगा गत मार्चबाट स्थगित गरिएको थियो । तर, कोरोनाको महामारी स्पेनमा कायम रहेपछि ला लिगा सुचारुको मिति अनिश्चित बनेको छ ।
'मलाई थाहा छैन । यो महामारीको चरणमा निर्भर हुन्छ । म चाहन्छु जुन १२ बाट सुचारु होस्,' टेबासले भने, 'यो भाईरसको स्पाइकमा निर्भर हुन्छ । पहिलो र दोस्रो डिभिजनको लिग एकै समयमा सकिन्छ ।'
कोरोनाको कारण विश्वमा २ लाख ८० हजार मानिसको मृत्यु भईसकेको छ । स्पेनमा मात्र २६ हजार बढीले ज्यान गुमाएका छन् ।

आइतबार मात्र ला लिगका पाँच खेलाडीलाई कोरोनाको संक्रमण देखिएको थियो । जसको कारण लिग थप अनिश्चित बनेको छ ।
अध्यक्ष टेबासले एकै क्लबमा धेरै खेलाडीमा कोरोना देखिए त्यो लापरबाहीको कारण भएको बताए ।
'यदि एकै क्लबमा पाँच खेलाडीमा संक्रमण देखिए त्यो लापरबाही दर्शाउछ,' टेबासले भने, 'हामी लिग सुचारु हुँदा खेलाडीमा कुनै संक्रमण नहोस् भन्ने आशा गर्छौं ।'
यस सिजन लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । रियल मड्रिड भन्दा बार्सिलोना २ अंकले मात्र अघि रहेको छ ।
लिगमा अब ११ चरणको खेल खेल्न बाँकी रहेको छ ।