एजेन्सी । इंग्लिस क्लब आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरले नयाँ प्रशिक्षक मिकेल अर्टेटाले आर्सनलको पुरानो शैली फर्काउनेमा आफुलाई विश्वास रहेको बताएका छन् ।
टल्कस्पोर्ट्ससँग कुरा गर्दै वेंगरले आफु क्लबबारे अझै चिन्तित रहेको बताउँदै अर्टेटाले आर्सनललाई लयमा ल्याउनेमा विश्वस्त रहेको बताएका हुन् ।
'म अझै क्लबबारे चिन्तित छु । मैले हरेक खेल हेरेको छु,' वेंगरले भने, 'आर्सेनलले खेल्ने फुटबल संकृतिमा मेरो सम्मान रहेको छ । र, मलाई आशा छ कि मिकेलले त्यो फिर्ता ल्याउनेछ ।'
वेंगरले सन् २०१८ मा आर्सनल छाडेका थिए । ७० वर्षीय प्रशिक्षक वेंगरले करिब २२ वर्ष आर्सनलको टिम हेरेका थिए ।
वेंगरले क्लब छाडेपछि आर्सनलले युनाइ इम्रीलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो । तर, गत सिजन खराब प्रदर्शन गरेपछि आर्सनलले इम्रीलाई बर्खास्त गर्दै अर्टेटालाई प्रशिक्षक चयन गरेको थियो ।
अर्टेटाले वेंगरको प्रशिक्षणमा क्लबबाट खेलेका थिए । यस्तै सहायक प्रशिक्षकको रुपमा समेत काम गरेका थिए ।
आर्सनल यस सिजन नवौं स्थानमा रहेको छ । शीर्ष पाँचमा रहन आर्सनलले संघर्ष गरिरहेको छ ।
तर, कोरोना भाईरसको कारण लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रिमियर लिगले स्थगित लिग जुनबाट सुचारु गर्ने तयारी गरेको छ ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।