एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड ओडीन इघालोले क्लबसँगको सम्झौता नवीकरण हुने विश्वास व्यक्त गरेका छन् ।
चिनियाँ सुपर लिग क्लब सांघाईबाट लोनमा युनाइटेड आएका इघालोको सम्झौता मे ३१ मा सकिदैछ । तर, इघालोले सिजनको अन्त्यसम्मका लागि सम्झौता नवीकरण हुने विश्वास लिएका छन् ।
'सम्भव भएसम्म म सिजन समाप्त गर्न चाहन्छु,' बीबीसीसँग इघालोले भने ।
३० वर्षीय स्ट्राइकर इघालो जनवरीमा युनाइटेड आएका हुन् । उनले ८ खेलमा युनाइटेडका लागि ४ गोल गरेका छन् ।
तर, कोरोना भाईरसको महामारीको कारण प्रिमियर लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रिमियर लिगले जुनमा स्थगित लिग सुचारु गर्ने तयारी गरेको छ ।
यस्तै इघालोले आफु उत्कृष्ट लयमा भएको समेत बताए ।
'म उत्कृष्ट लयमा छु । गोलहरु गरिरहेको छु । अहिले हामी एक महिना बढी रोकिएका छौँ । मैले मेरो उत्कृष्ट दिए र आशा छ हामी खेलमा फर्कन्छौ,' इघालोले थपे ।
इघालोले नाइजेरियाका लागि ३५ खेलमा १६ गोल गरेका छन् ।