एजेन्सी । केलियन एम्बाप्पेले मोनाकोका फरवार्ड विन एडर समेत गोल्डेन बुटको हकदार भएको बताएका छन् ।
लिग वानमा यस सिजनको गोल्डेन बुटको अवार्ड प्राप्त गरिसकेपछि एम्बाप्पेले विसाम समेत गोल्डेन बुटको अवार्ड बाँड्न लायक खेलाडी भएको बताएका हुन् ।
फ्रेन्च लिगका दुवै खेलाडीले बराबरी गोल गरेपनि एम्बाप्पेले गोल्डेन बुटको अवार्ड प्राप्त गरेका थिए ।
दुवै फरवार्डले फ्रेन्च लिगमा समान १८ गोल गरेका थिए । तर ओपन प्लेका आधारमा एम्बाप्पेलाई लिग वानको गोल्डेन बुट प्रदान गरिएको थियो ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण फ्रेन्च लिग रद्ध गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई च्याम्पियन घोषणा गरिएको थियो भने आधिकारिक रुपमा एम्बाप्पेलाई गोल्डेन बुटको अवार्ड प्रदान गरिएको हो ।

एम्बाप्पेले ट्वीट गर्दै समान मेहनतका लागि विसाम समेत अवार्डको हकदार भएको बताए । उनले प्रिमियर लिगमा समान गोल गरेर मोहमद सलाहा, साडियो माने र पियरिक ईम्रिक अबुमियाङले गोल्डेन बुटको अवार्ड बाँडेको उल्लेख गर्दै सो कुरा बताएका हुन् ।
एम्बाप्पेले गत सिजन समेत गोल्डेन बुट प्राप्त गरेका थिए । उनले ३३ खेलमा २९ गोल गरेका थिए ।
लिग च्याम्पियन घोषणा गरिएको पीएसजीले तालिकामा १२ अंकको अग्रता बनाएको थियो । विसाम यसै सिजनमात्र मोनाको आएका थिए । उनी गत समर ट्रान्सफरमा सेभिल्लाबाट फ्रेन्च क्लबमा अनुबन्धित भएका हुन् ।