एजेन्सी । युभेन्ट्सका फरवार्ड पाउलो डिबालाले पूर्व सहकर्मी तथा म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बासँग पुन: एकै टिमबाट खेल्ने चाहना व्यक्त गरेका छन् ।
पोग्बा आफ्नो एक राम्रो साथी रहेको बताउँदै डिबालाले भविष्यमा उनको सहकर्मी भएर खेल्ने इच्छा व्यक्त गरेका हुन् ।
'पोग्बालाई म एक खेलाडी भन्दा पनि राम्रो साथीको रुपमा हेर्छु,' डिबालाले भनेका छन्, 'मैले उहाँसँग धेरै राम्रो कुराहरु साझेदारी गर्ने अवसर पाए । मलाई आशा छ म त्यो दिन दोहोर्याउने छु ।'
अर्जेन्टिनी फरवार्ड डिबालाले युभेन्ट्समा पोग्बासँग एक सिजन खेलेका थिए । तर, फ्रान्सका स्टार पोग्बा सन् २०१६ मा युभेन्ट्सबाट युनाइटेड आएका थिए ।
पछिल्लो समय पोग्बा युभेन्ट्स फर्कने चर्चा समेत चलेको छ । यस्तै विश्वकप विजेता पोग्बा अनुबन्धको लागि लागि रियल मड्रिडले निकै चासो देखाएको छ ।
यस सिजन भने पोग्बाले चोटका कारण युनाइटेडमा धेरै खेल खेल्न पाएका छैनन् ।
तर, कोरोना भाईरसको कारण प्रिमियर लिग अनिश्चितकालका लागि स्थगित भएको छ ।