एजेन्सी । कोरोना भाईरसका कारण अनिश्चित बनेको विश्व फुटबल अब फर्कने भएको छ । युरोपको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता जर्मन बुन्डेशलिगा मे १६ बाट सुरु हुने पक्का भएको हो ।
जर्मन फुटबल संघले बिहिबार कोरोनाका कारण अनिश्चित बनेको बुन्डेशलिगा मे १६ बाट सुरु हुने घोषणा गरेको हो ।
कोरोनाका कारण मध्य फेब्रुअरीबाट प्रतियोगिता अनिश्चित बनेको थियो । अब खेलाडीलाई मैदान प्रवेशका लागि अनुमती प्राप्त भएको छ ।
जर्मन एफएका अध्यक्ष क्रिस्टियन सेफर्टले योजना सार्वजनीक गर्दै शनिबार ६ वटा खेल हुने बताएका छन् । दोस्रो स्थानको बोरुसिया डर्टमण्डले साल्केसंग खेल्दै गर्दा साविक विजेता बार्यन म्युनिख भने युनियन बर्लिनको भ्रमणमा निस्कने तय भएको छ ।
सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ ।
जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार बुन्डेशलिगाको अबरुद्ध सिजन पुन सुरु गर्ने घोषणा गरेकी थिईन् । उनले मेको दोस्रो साता खेल सुरु हुने बताएकी थिइन् ।
बुधबार जर्मन सरकारले दुई शीर्ष डिभिजनका ३६ क्लब मेको दोस्रो हप्ता खेल्न योग्न हुने बताएको थियो ।
कोरोना रोकथामको उल्लेख्य सुधार गरेको जर्मनीले लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ । सोही कारण उसले शीर्ष डिभिजनका दुई फुटबल प्रतियोगिता खेल्न समेत अनुमती प्रदान गरेको हो । उसले मानिसबीच साढे १ मिटर दुरी कायम राख्न समेत निर्देशन दिएको छ ।
बुन्डेशलिगामा बार्यन शीर्ष स्थानमा रहेको छ । उसले लिगमा ४ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा बोरुसिया डर्टमण्ड रहेको छ ।