एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लबले आगामी सिजनको पुरै लिग खेल बन्द रंगशालामा खेल्ने तयारी गरेको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै क्लबहरु सन् २०२०/२१ को पुरै सिजन दर्शक बिना खेल्ने तयारी गरिरहेको स्काई स्पोर्ट्सले जनाएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको औषधि आगामी वर्षसम्म उपलब्ध हुने सम्भावना कम भएको कारण क्लबहरुले आगामी सिजन दर्शक बिना खेलाउने तयारी गरेको हो ।
कोरोनाको औषधि आगामी वर्षसम्म उपलब्ध हुने आशा गरिएको छ । क्लबहरुले समेत कोरोनाको खोप आएपछि मात्र फुटबल सामान्य अवस्थामा फर्कने विश्वास लिएको छ ।
कोरोनाको कारण यस सिजनको लिग समेत स्थगित गरिएको छ । यस्तै यस सिजनको बाँकी खेल न्युट्रल भेन्युमा गर्ने तयारी समेत प्रिमियर लिगले गरेको छ ।
यस सिजनको लिग नसकिए २० क्लबलाई १ विलियन पाउण्ड घाटा हुने बताईएको छ । त्यसैले क्लबहरु स्थगित लिग सक्ने योजनामा छ ।
प्रिमियर लिग क्लबले यस सिजन सुचारुको अनुमानित मिति जुन १२ लाई राखेको छ । तर, अब सरकारले बनाउने लकडाउन नीतिमा भर पर्ने बताईएको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।