एजेन्सी । स्पेनिस ला लिगा फुटबलका अध्यक्ष जाभियर टेबासले कोरोना भाईरसको कारण स्थगित लिग आगामी जुन महिनाको मध्येबाट सुचारु हुने विश्वास लिएको बताएका छन् ।
युरोपका केहि ठुला लिग रद्द भएको अवस्थामा ला लिगा अध्यक्षले भने जुनको मध्येबाट सुचारु हुनेमा आशावादी रहेको बताएका हुन् ।
'म आशा गर्छु कि लिग जुनको मध्यबाट फेरि सुरु हुन्छ,' मोभिस्टारसँग उनले भने,' त्यहाँ समय छ जुनमा हामी फेरी प्रतियोगिता सुरु गर्न सक्छौ ।'
कोरोनाको कारण फ्रेन्च लिग वान रद्द भईसकेको छ । फ्रान्स सरकारले आगामी सेप्टम्बरसम्म खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको छ । यस्तै डच लिग र बेल्जियमको लिग समेत रद्द भईसकेको छ ।
यस्तै अध्यक्ष टेबासले सिजन सकाउनको लागि समय कुरिरहेको बताए ।
'हामी टिमको प्रशिक्षणबारे हेरिरहेका छौँ । मिति खोजिरहेका छौँ । मैले देखेको हामी सिजन अन्त्य गर्न सक्छौं । त्यो महत्वपूर्ण छ,' उनले भने ।
कोरोनाको कारण स्पेनिस ला लिगा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
यस सिजन बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बार्सिलोना रियल मड्रिड भन्दा २ अंकले अघि रहेको छ ।