काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगाउन सरकारले विगत १ महिनायता लकडाउन लगाएको छ ।
लकडाउनको मारमा खेलाडीहरु समेत परेका छन् । खेलाडीले नियमित प्रशिक्षण र खेल खेल्न पाएका छैनन् ।
नियमित मैदानमा देखिने खेलाडीहरु कोठाभित्र सिमित बनेका छन् । लामो समय खेल र प्रशिक्षण भन्दा बाहिर रहदा खेलाडीहरु आफ्नो फिटनेस र लय गुम्नेमा चिन्तित छन् ।
कतिपय खेलाडी घरमा उपलब्ध सामाग्री प्रयोग गरेर सामान्य अभ्यास गरिरहेका छन् । तर, मैदानमा फर्कदा उक्त फिटनेस प्रयाप्त हुँदैन ।
लकडाउन एक महिना बढी कायम रहदा राष्ट्रिय क्रिकेट टिमका फिजियोथेरापिस्ट विक्रम न्यौपाने खेलाडीको फिटनेसलाई लिएर निकै चिन्तित छन् ।

विक्रम हरेक दिन खेलाडीलाई आफुले घरैमा उपलब्ध भएका सामाग्रीले गर्न सकिने फिटनेस अभ्यास सुझाउँदै आएका छन् ।
यस्तै विक्रम लकडाउनपछि खेलाडीको फिटनेस र स्ट्रेन्थ जाँच गर्ने योजनामा छन् ।
'लकडाउन खुल्ने वित्तिकै खेलाडीको फिटनेस र मसल स्ट्रेन्थ चेक गर्न चाहन्छु । त्यसको लागि मलाई क्यानको सहयोग आवश्यक हुन्छ । अन्त्यमा त्यो जाँच सबैको लागि लाभदायी हुनेछ,' विक्रमले खेलपाटीसँग भने ।

विक्रम अहिले बिहान र बेलुका घरैमा उपलब्ध सामानको प्रयोगबाट खेलाडीलाई फिट रहने उपाए घरबाटै सिकाउँदै आएका छन् । यस्तै, खेलाडीलाई आवश्यकता अनुसारको डाइटबारे सुझाब दिईरहेका छन् ।
'खेलाडीलाई आवश्यकता अनुसार डाइट र एक्सरसाइज सुझाउँदै छु,' उनले थपे, 'उनीहरूलाई दिउँसोको खाली समयमा त्यत्तिकै बस्नु भन्दा मोटिभेसनल फिल्म, जीवनी पढ्न र हेर्न समेत आग्रह गर्छु ।'