काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत खवास नेपाली सेनाको विभागीय ड्युटीमा खटिएका छन् ।
कोरोना भाईरसको संक्रमण बढेसँगै त्रिभुवन आर्मी क्लबका भरत विभागीय ड्युटीमा खटिएका हुन् ।
नेपाली सेनाका उपसेनानी समेत रहेका भरत आफ्नो युनिटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका छन् ।
'मेरो ड्युटी सुरु भएको छ । अहिले युनिटसहित एयरपोर्टमा खटिएको छु,' भरतले खेलपाटीसँग भने ।
सरकारले लकडाउन गरेसँगै फुटबल गतिविधि बन्द हुँदा भरत यसअघि परिवारसँग समय बिताईरहेका थिए ।
तर, कोरोनाको संक्रमण बढेसँगै विभागले आफ्नो मातहतमा रहेका खेलाडीलाई समेत ड्युटीमा खटाउन थालेको हो ।
नेपालमा अहिलेसम्म ५२ जनामा कोरोनाको संक्रमण देखिएको छ । सरकारले गत चैत ११ गतेबाट देशभर लकडाउन गरेको थियो ।
भरत गत फागुनमा सम्पन्न सहिद समरक 'ए' डिभिजन लिगमा सर्वोकृष्ट स्ट्राइकर चुनिएका थिए ।
तर,भरतको कप्तानीमा रहेको आर्मी क्लब अन्तिम खेलमा पराजित हुँदै उपाधि जित्नबाट बन्चित भएको थियो ।
यसै लिगबाट भरतले करियरको ५० गोल समेत पुरा गरेका थिए । शीर्ष डिभिजनको लिगमा ५० गोल पूरा गर्ने भरत छैटौं खेलाडी हुन् ।
भरत राष्ट्रिय टिमका नियमित सदस्य समेत हुन् । सन् २००८ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका भरत त्यस यता राष्ट्रिय टिममा छन् ।
भरतले राष्ट्रिय टिमबाट १० गोल गरिसकेका छन् । भरत अर्का स्ट्राइकर हरि खड्का र निराजन रायमाझिको नाममा रहेको १३ गोलको कीर्तिमान तोड्ने योजनामा छन् ।

विभागीय टिम नेपाल पुलिस क्लबबाट 'ए' डिभिजन लिगको उपाधि हात पारेपनि भरतले आर्मीबाट भने लिगको उपाधि हात पार्न सकेका छैनन् ।
भरत नेपाल पुलिस हुदै आर्मी पुगेका हुन् ।