एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडीले तलब कटौतीको प्रस्ताव अस्विकार गरेका छन् ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण आर्थिक समस्यासंग जुध्न क्लबले राखेको तलब कटौतीका प्रस्ताव खेलाडीले अस्विकार गरेका हुन् ।
नेयमार लिग वानमा सर्वाधिक कमाई गर्ने खेलाडी हुन् । उनले साप्ताहिक ६ लाख पाउण्ड तलब लिदै आएका छन् । यस्तै, केलियन एम्बाप्पेले साप्ताहिक ३ लाख ७५ हजार पाउण्ड तलब बुझ्दै आएका छन् ।
तलब कटौतीका प्रस्ताव अस्विकार गरेसंगै क्लब र खेलाडीबीचको छलफल रोकिएको छ ।

क्लबका अध्यक्ष अल खालिफाले पछिल्लो हप्ता एक अन्तरवार्तामा क्लबको लागत कम गर्नका लागि खेलाडीले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
'म अपेक्षा गर्छु, उनीहरुले क्लबलाई सहयोग गर्नेछन् ।' उनले भनेका थिए ।
फ्रेन्च मिडियाका अनुसार क्लबका कप्तान थिएगो सिल्भा र उपकप्तान मार्कुन्होसले खेलाडीको तलबबाट क्लबसंग छलफल गरेका थिए ।
क्लबले खेलाडीले स्वेच्छिक रुपमा तलब कटौतीको प्रस्तावमा सहयोग गर्ने अपेक्षा गरेको थियो ।
मंगलबार साँझमात्र लिग वानको यो सिजन रद्ध गरिएको घोषणा गरिएको थियो ।
कोरोना भाईरसको महामारीबाट धेरैनै प्रताडित बनेको फ्रान्सले यस सिजनको शीर्ष डिभिजनका दुई लिग रद्ध गर्ने घोषणा गरेको थियो । पछिल्लो निर्णयसंगै पीएसजीले करिब २ सय १० मिलियन पाउण्ड रकम गुमाउने अनुमान गरिएको छ ।