एजेन्सी । स्पेनिस ला लिगा फुटबलको ब्रोडकाष्टिङ पार्टनर मिडियाप्रोका प्रमुख कार्यकारी जुमे रोउरेसले स्थगित लिग जुलाईबाट सुचारु हुने बताएका छन् ।
कोरोना भाईरसको महामारीको कारण ला लिगा अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
कोरोनाको कारण स्पेनमा आठ हजार बढी मानिसको मृत्यु भईसकेको छ । संक्रमितको संख्या ४२ हजार पुगेको छ । यस्तोमा लिग थप अन्योलमा परेको छ ।
तर, मिडियाप्रोका प्रमुख कार्यकारी रोउरेसले लिग जुलाईबाट सुचारु हुने बताएका छन् ।
'विश्वास छ फुटबल जुलाईबाट सुचारु हुन्छ । मैले जुलाईबाट भन्नुको कारण छ । मुख्यत सबैको स्वास्थ्यको ग्यारेण्टी हुनुपर्छ,' उनले भने ।
यस्तै उनले लिग दर्शकबिना आयोजना हुने दाबी गरे ।
'फक्कैपनि फुटबल दर्शकबिना फर्कनेछ । तर, त्यसअघि उनीहरुलाई प्रि-सिजन हुनुपर्छ,' उनले थपे, 'उनीहरु लामो समय घरमा रहेको कारण खेल्न सक्दैनन्।'
ला लिगा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । लिग स्थगित हुँदासम्म बार्सिलोना रियल मड्रिड भन्दा २ अंकले अघि रहेको हो ।