‘द स्पेशल वान’ माउरिन्हो

काठमाडौं। टर्किस क्लब फेनेरबाचेबाट गत अगस्टमा बिदा भएका जोसे मोउरिन्हो कुनै पनि क्लबसँग आबद्ध भएनन्।
तर, यति बेला आफ्नो पुरानो क्लब बेनफिकामा उनी फर्किएका छन्। ईएसपीएनका अनुसार बेनफिका व्यवस्थापनले मोउरिन्होसँग प्रारम्भिक सम्पर्क गरिसकेको थियो। यसले गर्दा चाँडै नै पोर्चुगाली प्रशिक्षक पुनः प्रशिक्षकको भूमिकामा फर्किएका हुन्।
च्याम्पियन्स लिगमा मंगलबार कराबाखसँग ३–२ ले पराजित भएको बेनफिकाले दुई गोलको अग्रता गुमाएपछि मुख्य प्रशिक्षक ब्रुनो लाजेलाई बर्खास्त गरेको हो। नयाँ प्रशिक्षक खोज्ने क्रममा सबैभन्दा चर्चित नाम अहिले पोर्चुगलमा ‘द स्पेशल वान’ भनेर चिनिने मोउरिन्होको थियो। मोउरिन्हो स्वयंले पनि बेनफिकाको जिम्मेवारी लिने चाहना व्यक्त गरेका थिए।
६२ वर्षीय प्रशिक्षक बार्सिलोनाबाट चार्टर्ड उडानमा लिस्बन आइपुगेका थिए। पत्रकारहरू पहिले नै विमानस्थलमा उनको प्रतीक्षामा थिए। ‘म विमानमा चढ्नु अघि मलाई सोधिएको थियो कि म इच्छुक छु कि छैन। मैले हुन्छ भनें। जब मलाई बेनफिकामा प्रशिक्षणको सम्भावनाको बारेमा भनियो मैले दुई पटक सोचिन। कुनै पनि प्रशिक्षकले बेनफिकासँग काम गर्न अस्वीकार गर्दैनन्,’ उनले भने।
सन् २००४ मा एफसी पोर्टो छाडेर इङ्लिस क्लब चेल्सीको प्रशिक्षक भएपछि उनी पोर्चुगल फर्किएका थिएनन्। तर, बेनफिकासँग उनको विशेष सम्बन्ध छ। सन् २००० मा यही क्लबमार्फत १० खेलमा ‘टचलाइन’ सम्हालेर उनको प्रशिक्षक जीवन सुरु भएको थियो। त्यसपछि नै मोउरिन्हो विश्व फुटबलका सबैभन्दा सफल प्रशिक्षकमध्ये एक बन्ने यात्रामा अघि बढेका हुन्।
बेनफिकाले शनिबार प्रिमेरा लिगामा एभिएसविरुद्धको खेलअघि नै नयाँ प्रशिक्षक नियुक्त गर्ने लक्ष्य राखेको थियो। त्यसैले निर्णय चाँडो गर्नुपर्ने दबाब पनि बढेको थियो। तर, क्लबले मोउरिन्हो मात्र नभई म्यानचेस्टर युनाइटेडमा अस्थिर अवस्थामा रहेका रुबेन अमोरिमलाई समेत विकल्पमा राखेको थियो।
सन् २००८ देखि २०१७ सम्म अमोरिम बेनफिकाकै खेलाडी रहिसकेका कारण केही समर्थक उनलाई फर्किनुपर्ने पक्षमा थिए। यहीबीच क्लबका अध्यक्ष रुई कोष्टाले भनेका थिए,‘बेनफिकाको प्रशिक्षक विजेताको मानसिकता भएको हुनुपर्छ। जसले यो क्लबलाई आवश्यक उचाइमा पुर्याउन सक्छ र हामीलाई उपाधिहरू दिलाउन सक्छ।’
यदि मोउरिन्हो नियुक्त भएसँगै उनको लागि धेरै भावनात्मक पुनर्मिलनहरू पर्खिरहेका छन्। ३० सेप्टेम्बरमा उनले आफ्नो पुरानो क्लब चेल्सीविरुद्ध स्ट्यामफोर्ड ब्रिजमा च्याम्पियन्स लिग खेल्नेछन्। ५ अक्टोबरमा पोर्टोविरुद्धको लिग खेलमा भिड्नेछन्, जुन क्लबमा उनी सफलतापूर्वक प्रशिक्षक भइसकेका थिए।
साथै, २०२६ जनवरी २८ मा बेनफिकाको तर्फबाट रियल मड्रिडविरुद्ध मैदानमा उत्रँदा पनि उनी आफ्नो अर्को पुरानो क्लबसँग भिड्नेछन्।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

