एजेन्सी । अर्जेन्टिनाका गोलकिपर ओस्कार उस्तारीले स्टार फरवार्ड लियोनल मेस्सीले फिफा विश्वकप फुटबलको उपाधि नजिते फुटबल अन्यायपूर्ण हुने बताएका छन् ।
रेडियो मिट्रेसँग कुरा गर्दै गोलकिपर ओस्कारले खेल जीवन अन्त्य गर्दासम्म अर्जेन्टिनाका कप्तान मेस्सीले विश्वकप जित्न नसके फुटबलमा अन्याय हुने बताएका हुन् ।
'मलाई कुनै दुविधा छैन । यदि मेस्सी विश्व च्याम्पियन भएन भने फुटबल अन्यायपूर्ण हुनेछ,' ओस्कारले भने ।
विश्व फुटबलमा आफ्नो पुस्ताकै महान खेलाडी रहेका मेस्सीले क्लब फुटबलमा धेरै उपाधि जितेका छन् । बार्सिलोनाका फरवार्ड मेस्सीले क्लबका लागि च्याम्पियन्स लिग, ला लिगा, क्लब विश्वकप लगायतका थुप्रै उपाधि जितेका छन् ।
तर, मेस्सीले अर्जेन्टिनाका लागि भने ठुला उपाधि दिलाउन सकेका छैनन् । सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई उपविजेता बनाउनु नै मेस्सीको ठुलो सफलता हो । यस्तै सन् २०१५ र १६ को कोपा अमेरिकामा अर्जेन्टिना उपविजेता बनेको थियो ।
सन् २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो भने सन् २०१९ को कोपामा अर्जेन्टिना तेस्रो भएको थियो ।
तर, गोलकिपर ओस्कारले कीर्तिमानी ६ पटकको बालोन डी ओर विजेता मेस्सीको क्षमतामा शंका गर्नु मूर्खता भएको बताए ।
'मेस्सीलाई शंका गर्नु मूर्खता हो । परिस्थिति कस्तो हुन्छ थाहा छैन । तर, म यति भन्न सक्छु कि मैले उसलाई बच्चा जस्तै रोइरहेको देखेको छु किनकि राष्ट्रिय टोलीमा जे भइरहेको थिय,' उनले थपे ।