ईपीएल खेल्न पोखराका खेलाडी साइकलमा मैदान जाने

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेल खेल्न पोखरा राइनोजको टिम साइकलमा मैदान जाने भएका छन् ।
पोखरा राइनोजले वातावरण संरक्षणमा जनचेतना जगाउने उदेश्यले उद्घाटन खेलमा साइकल र्याली गर्ने भएको हो । जसमा पोखराका खेलाडीले समेत सहभागिता जनाउने छन् ।
र्याली माइतीघर मण्डलाबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, कालिमाटी, बल्खु हुँदै त्रिवि क्रिकेट मैदानमा पुगेर सकिने छ । र्यालीमा खेलाडीसँगै स्वयमसेवक र समर्थकले साथ दिने छन् ।
आयोजक जे फोर स्पोर्ट्सले र्याली सहभागिता जनाउन समर्थकलाई समेत आह्वान गरेको छ । यस्तै सुरुमा आएर नाम दर्ता गराउने ५० समर्थकलाई खेलको टिकट समेत उपलब्ध गराउने आयोजकले जनाएको छ ।
'वायु प्रदूषणको कारण बाहिरी खेलहरू खतरामा परेका छन् । सबैमा जनचेतना जगाउन चाहान्छौं कि हावा सफा हुनु पर्छ,' पोखरा राइनोजकी मालिक रहेकी दिपा अग्रवालले भनिन्, 'त्यसैको कारण हामीले पहिलो खेलमा खेलाडीलाई साइकल र्याली गर्दै मैदान जाने छौं । सबै समर्थकलाई समेत साथ दिन आह्वान गर्छु ।'
र्यालीमा क्रिस गेल, केस्रिक विलियम्स, जर्ज मुन्से, रिचार्ड लेभी, बिनोद भण्डारी, शक्ति गौचन, सुशन भारी जस्ता खेलाडीको सहभागिता रहने समेत आयोजकले जनाएको छ ।
'पहिलो खेलको दिन माइतिघर देखि त्रिवि मैदानसम्म केहि समयको लागि ट्राफिक बन्द गर्ने बिचार गरेका छौं । त्यसैले आफ्नो साइकल ल्याउनुहोस् र स्वच्छ सफा हावा - मानव अधिकार र्यालीमा सहभागी बन्नुहोस्,' पोखराले फेसबुक पेजमा भनेको छ, 'हाम्रो मनपर्नेको खेलाडी बिनोद भण्डारी, शक्ति गौचन, सुशन भारी, क्रिस गेल, केस्रिक विलियम्स, जर्ज मुन्से, रिचार्ड लेभीको ठिक अगाडी बढ्नुहोस् ।'
आयोजकले काठमाडौंमा बढ्दो वायु प्रदुषणको विरोधमा साइकल र्याली गर्न लागेको जनाएको छ ।
'हामी विश्वास गर्छौं ताजा, सफा हावा सबै मानवको जन्मसिद्ध अधिकार हो,' आयोजकले लेखेको छ ।
ईपीएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोज खेल्दै छन् ।
चैत १ गतेबाट सुरु हुने प्रतियोगिताको पहिलो खेल दिउँसो २ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ ।








-1762758084543.jpg&w=3840&q=75)





