एजेन्सी । युवा स्टार केलियन एमबाप्पे ओलम्पिक खेल्ने फ्रान्सको प्रारम्भिक टोलीमा परेका छन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट ब्यवसायीक फुटबल खेलिरहेको फ्रान्सेली स्टारलाई जापानमा यसै वर्ष हुने ओलम्पिकका लागि फ्रान्सेली टोलीमा समावेश गरिएको हो ।
एमबाप्पे सहित ८० खेलाडी जापानमा हुने प्रतियोगिताका लागि प्रारम्भिक टोलीमा परेका छन् । २३ वर्ष मुनिको टोलीले ओलम्पिक छनोट खेल्नेछ ।
जसमा चार जना खेलाडी बढी उमेरको समावेश गर्न पाईनेछ । अन्तिम छनोट अगाडी ५० जनाको नाम काटिनेछ । प्रतियोगिता जुलाई २२ देखि अगष्ट ८ सम्म सञ्चालन हुनेछ ।
फ्रान्सेली फुटबल महासंघका अध्यक्ष नोएल ले ग्रटले एमबाप्पेको प्रतिभा र योग्यताका आधारमा टोलीमा समावेश गरिएको बताएका छन् । जसमा पीएसजीका फरवार्डलाई २३ वर्ष मुनिका खेलाडीको कोटाका आधारमा समेत सहभागी गर्न सकिनेछ ।
एमबाप्पे यस सिजन उत्कृष्ट फर्ममा छन् । उनले ३१ खेलमा २७ गोल गर्नुका साथै १७ गोलका लागि अवसर समेत सिर्जना गरेका छन् ।
पछिल्लो खेलमा डिजोनबिरुद्ध दुई गोल गर्दै उनले लिग वानमा पीएसजीलाई ४–० को जित दिलाएका थिए । सोही जितसंगै पीएसजीले लिग वानमा १३ अंकको अग्रता लिएको छ ।
सन् १९८४ मा ब्राजिललाई २–० ले हराउँदै फ्रान्सले अोलम्पिकमा स्वर्ण पदक जितेको थियो । फ्रान्स १९९६ पछि ओलम्पिकमा सहभागी छैन ।
सन् २०१६ मा ब्राजिलमा भएको पछिल्लो ओलम्पिक गेम्समा ब्राजिलले पहिलो पटक ओलम्पिकमा स्वर्ण जितेको थियो ।
हंगेरी र ईङ्ल्याण्डले ओलम्पिकमा सर्वाधक ३÷३ पटक स्वर्ण पदक जितेका छन् ।
टोकियो ओलम्पिकमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको खेल तालिका अप्रिल २० मा सार्वजनिक गरिनेछ ।