धनगढी । अभिषेक रिजालले गरेको एक मात्रै गोल निर्णायक बन्दा गत वर्ष थ्री स्टार क्लब पहिलो पटक सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि हात पार्न चुकेको थियो ।
अन्तिम समयमा नेपाल पुलिससँग १-० ले पराजित हुँदा उपाधि जित्नबाट बन्चित थ्री स्टार पुन: चौथो संस्करणको खप्तड गोल्डकपको फाइनलमा पुगेको छ ।
तर, यस पटक थ्री स्टारले नयाँ प्रतिद्वन्द्वी पाएको छ ।
धनगढी रंगशालामा मंगलबार हुने चौंथो संस्करणको फाइनलमा थ्री स्टारले नयाँ प्रतिद्वन्द्वी तथा आयोजक सुदूरपश्चिम-११ सँग खेल्नेछ ।
चौथो संस्करणसम्म आईपुग्दा दुवै टिमले उपाधि हात पार्न सकेका छैनन् । त्यसैले मंगलबार खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउने छ ।
दुवै टोली मंगलबार खप्तड गोल्डकपको नयाँ च्याम्पियन टिम बन्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
फाइनल अघि सोमबार आयोजना भएको प्रि म्याच कन्फरेन्समा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् ।
सहिद स्मारक 'ए' डिभिजन लिगमा चौंथो भएको थ्री स्टार औषत खेल र खेलाडीको बाबजुद घरेलु टिमलाई निराश बनाउने योजनामा छ ।
‘फाइनल खेल फाइनलनै हुनेछ । दुवै टिमलाई उत्तिकै गार्हो पनि । फाइनल खेल ५०–५० को हो । दुवै टिम युवा खेलाडीले भरिएको छ । जसले मौका बनायो । मेहनत गर्याे उसैले जित्ने हो,' थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, 'हामी हाम्रो तर्फबाट एकदमै मेहनत गर्नेछौं ।’
प्रतियोगिताको दुई खेल खेलेको थ्री स्टारले सतप्रतिशत जित निकालेको छ । दुई खेलमा ३ गोल गरेको उसले कुनै गोल व्यहोरेको छैन ।
थ्री स्टारले सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
तर, झापामा भएको सताक्षी गोल्डकपको फाइनलमा मछिन्द्र फुटबल क्लबसँग पराजित थ्री स्टार सुदूरपश्चिम-११ लाई कमजोर आक्ने छैन ।
डिफेन्स लाईनमा बलियो रहेको थ्री स्टारलाई फाइनलमा आफ्नो अग्रपंक्तिले सताउने छ । उसले गोललाईन र डिफेन्समा राम्रो खेल देखाएपनि अट्याकमा भने चुकिरहेको छ । मुख्य फिनिसर नहुँदा फाइनलमा थ्री स्टारले यसैको सामना गर्नुपर्नेछ ।

यता, पहिलो पटक घरेलु दर्शकमाझ फाइनल पुगेर नयाँ इतिहास बनाएको आयोजक सुदूरपश्चिम थ्री स्टारलाई पराजित गर्दै अर्काे इतिहास बनाउने दाउमा रहनेछ । नयाँ इतिहास रच्न आयोजक टिमलाई १२ औं खेलाडीको रुपमा घरेलु समर्थकको राम्रो साथ रहनेछ ।
आयोजक सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारी घरेलु दर्शकमाझ आफ्ना अनुभवी र युवा खेलाडीले नयाँ इतिहास रच्ने बताउँछन् ।
‘फाइनल खेल हामीलाई गार्हो पर्छ । थ्री स्टार राम्रो टिम हो । हाम्रो खेलाडीमा अनुभव छ । मनोबल पनि उच्च छ । घरेलु दर्शको राम्रो साथ रहनेछ,’ प्रशिक्षक भण्डारीले भने, ‘खेलमा जसले गोल गर्याे त्यसैले जित्ने हो । हामी बल पोजिसन भन्दा पनि गोल गर्न खेल्छौं ।’
प्रतियोगितामा २ खेल खेलको आयोजक टिमले ६ गोल गर्दा ३ गोल व्यहोरेको छ । टिमका खेलाडीबीच तालमेल नमिल्दा सुदुरपश्चिमले गोल व्यहोर्दै आएको छ । जसलाई सुधार गरे आयोजक टिमले नयाँ इतिहास राख्ने पक्का छ ।
प्रतियोगितामा सर्वाधिक ४ गोल गरिसकेको आयोजकका बिक्रम सिंह ठकुरी थ्री स्टारविरुद्ध मुख्य हतियार रहनेछन् । सेमिफाइनलमा विभागीय टिम एपीएफलाई २-१ गोल अन्तरले पराजित गर्दा बिक्रमले दुई गोल गरेका थिए ।
यस्तै सुदूरपश्चिम-११ क कप्तान गजेन्द्र शाही र थ्री स्टारका कप्तान बिक्रम लामाले पहिलो पटक टिमले उपाधि जित्नेमा आफुहरु ढुक्क रहेको बताए ।
प्रतियोगिताको पहिलो संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लब हो । यस्तै दोस्रो संस्करणको विजेता आर्मी रहँदा गत वर्ष नेपाल पुलिसले उपाधि हात पारेको थियो ।
सुदुरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।