काठमाडौं । आयोजक न्यु समिट र सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
मुलपानी क्रिकेट मैदानमा शनिबार साविक विजेता समेत रहेको न्यु समिटले सेन्ट जेभियर्सलाई ४५ रनले पराजित गर्यो ।
टस जितेर पहिलो ब्याटिङ गरेको न्यु समिटले १५ ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय १४ रन जोड्न सफल भयो । उसका प्रनव डाँगीले ३४ बलको सामना गदै ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ४७ रन जोडे । सेन्ट जेभियर्सका प्रसुन्न पौडेलले २ ओभरमा २१ रन खर्चिएर २ विकेट लिएका थिए ।
न्यु समिटले दिएको १ सय १५ रनको चुनौती पछ्याउने क्रममा सेन्ट जेभियर्स कलेजले ९ विकेटको क्षतिमा ६९ रनमात्र जोड्न सक्यो । सेन्ट जेभियर्सका सन्दिप भुजेलले २३ बलमा सर्वाधिक १३ रन बनाए ।
न्यु समिटका लागि कप्तान राजिब गुरुङ र विशाल जोशीले ३/३ विकेट लिए ।
अर्को खेलमा सगरमाथाले स्वस्तिक कलेजलाई १ विकेटले पराजित गर्यो ।
प्रतियोगिताका विजेताले ६० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार पाउने छन् ।