काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाललाई मलेसियाले जितका लागि १ सय ५५ रनको लक्ष्य दिएको छ ।
थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए । अमिनुदुन राम्लेले २९ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । उनले टी-ट्वान्टीमा १ सय २ विकेट पुरा गरेका छन् ।
यस्तै अविनाश बोहराले २ विकेट लिए । करण केसीको नाममा एक विकेट रह्यो ।

आज मलेसियाविरुद्ध नेपाल जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।
नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएको छ ।
मलेसिया पनि बलियो टिम हो । मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । हालै हङकङविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो । त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ ।
प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।