काठमाडौं । काठमाडौं क्रिकेट ट्रेडिङ सेन्टर (केसीटिसी) दोस्रो संकरणको हिमालय क्रिकेट लिग (एचसिएल) को फाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा ओसिस क्रिकेट एकेडेमीलाई एक इनिङ्स ३१ रनले पराजित गर्दै केसीटिसी उपाधि नजिक पुगेको हो ।
अब केसीटिसीले उपाधिका लागि ग्रेट हिमालय क्रिकेट एकेडेमीसँग खेल्नेछ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केसीटिसीले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो ।
केसीटिसीका लागि ओपनर ब्याट्सम्यान विपिन आचार्यले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै राहुल भण्डारीले ४२ तथा विबेक राना मगरले २७ रन जोडे । ओसिसका सचिन शर्माले ४ तथा सुमित श्रेष्ठ र आयुश बानियाले २/२ विकेट लिए ।
केसीटिसीलाई अलआउट गरेको आफ्नो पहिलो इनिङ्स सुरु गरेको ओसिसले पहिलो इनिङ्समा अलआउट हुँदै ८१ रन मात्र बनाउन सक्यो । उसका रोशन पुलामीले २२, सचिन शर्माले १८ तथा सुदिप बस्नेतले १५ रन बनाए ।
केसीटिसीका सुर्य तामाङले एक्लैले ८ विकेट लिए ।
पहिलो इनिङ्समा सस्तैमा अलआउट भएपछि पुन: दोस्रो इनिङ्स थालेको ओसिस ७८ रन जोड्दा अलआउट भएपछि केसीटिसीले एकै इनिङ्समा जित निकालेको हो । ओसिसका सागर भण्डारीले १८, आशिष झाले १७ रन जोड्दा सुजल श्रेष्ठले १३ रन बनाए । केसीटिसीका सुर्य तामाङ र तिलक भण्डारीले ५/५ विकेट लिए ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।