काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमी दोस्रो संस्करणको हिमालय क्रिकेट लिग ( एचसिएल ) दुईदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेक्सस क्रिकेट एकेडेमीलाई एक इनिङ्स ६३ रनले पराजित गर्दै ग्रेट हिमालय फाइनल पुगेको हो ।
लगातार दुई खेलमा जित निकालेसँगै समूह 'बी' ग्रेट हिमालयले कुल ५० अंक जोडियो । अब ग्रेट हिमालयले फाइनलमा समूह 'ए' को शीर्ष स्थानमा रहने टिमसँग खेल्नेछ ।
मुलपानी क्रिकेट मैदानमा बुधबार दोस्रो इनिङ्समा नेक्सस १ सय १८ रनमा अलआउट भएपछि ग्रेट हिमालय एकै इनिङ्समा विजयी भएको हो ।
दोस्रो इनिङ्समा नेक्ससका महेश रानाले २३ रन जोड्दा विशाल विक्रम केसीले १८ रनको योगदान गरे । ग्रेट हिमालयका अरियो पौडेलले ८ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेक्सस पहिलो इनिङ्समा अलआउट हुँदै ४० रनमा समेटियो । उसका क्रिश कार्कीले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन ।
ग्रेट हिमालयका मोहम्मद हुसेन एक्लैले ५ विकेट लिएका थिए । उनले ११ ओभरमा ५ मेडनसहित मात्र १५ रन खर्चिए । यस्तै रासिद खान र सोनु देवकोटाले समान २/२ विकेट लिए ।

नेक्ससलाई सस्तैमा समेटेर पहिलो इनिङ्स थालेको ग्रेट हिमालयले ८ विकेट गुमाएर २ सय २० रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
ग्रेट हिमालयका लागि कप्तान आसिफ शेखले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रशान्त सिंहले ५० रनमा अविजित रहेका छन् ।
त्यसबाहेक अशोक पौडेलले २७ तथा आयुशमान बमले २६ रन बनाए । नेक्ससका नरेन साउदले ६ विकेट लिए ।
६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।