काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार साविक उपविजेता संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई 'बी' र दिपक राईले एक एक गोल गरे । संकटाका मेसोउकेले एक गोल फर्काए ।
खेलको ४४ औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले रञ्जित धिमालको कर्नरमा हेड गोल गरेका थिए ।

खेलको ६४ औं मिनेटमा विशालले फ्रिकिकबाट गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा दिपकले गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा संकटाका मेसोउकेले एक गोल फर्काएपनि मछिन्द्र ३-१ ले विजयी भयो ।
खेलमा मछिन्द्रका देवेन्द्र म्यान अफ दि म्याच चुनिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको मछिन्द्रले १२ खेलमा २८ अंक जोडको छ । र, मछिन्द्रले उपाधि होड कायम राखेको छ ।

मछिन्द्रले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पारेको छ । दोस्रो स्थानमा झरेको आर्मीको २६ अंक रहेको छ । तर, आर्मीले एक खेल कम खेलेको छ ।
मछिन्द्रको जितसँगै लिगको उपाधि होड समेत रोमान्चक मोडतर्फ गएको छ ।
संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
मछिन्द्र प्लेईङ सेट -
विशाल श्रेष्ठ, विजय धिमाल,देवेन्द्र तामाङ, पिटर सेगुन,रञ्जित धिमाल, आन्द्रेस निया, विशाल राई 'ए', विशाल राई 'बी' बुद्ध राज लिम्बु, दिपक राई, सोमिडे एडिलाजा
संकटा प्लेईङ सेट -
विनय श्रेष्ठ, विष्णु सुनार,एर्नेस्ट टेम्पी, रोमन लिम्बु,सरोज दाहाल, लक्ष्मण रुचाल, मोसेउके, राजेन्द्र रावल, सुवास गुरुङ, दिपेश आले मगर, कर्ण लिम्बु