काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माणाधीन पोखरा रंगशालाको प्यारापिट जोड्ने काम सुरु भएको छ ।
सागका लागि द्रुतगतिमा निर्माण भईरहेको पोखरा रंगशालामा बुधबारबाट प्यारापिट जोड्ने काम सुरु भएको हो । साग अन्तर्गत महिला फुटबल पोखरा रंगशालामा हुनेछ ।
निर्माणाधीन रंगशालाका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि पोखरा आइपुगेको थियो ।
मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले ५ दिनभित्र सबै प्यारापिट जडान भईसक्ने जनाएको छ ।
‘१५ कन्टेनर प्यारापिटका लागि आवश्यक सामान पोखरा आएको छ,’ जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालले भने, ‘५ दिनभित्र तयार हुने यो प्यारापिट ३८ सय क्षमताको हुनेछ ।’
यस्तै मैदानभित्र पर्ने सिन्थेटिक एथ्लेटिक ट्रयाकको कामसमेत धमाधम निर्माण भइरहेको बरालले जानकारी दिएका छन् । उनका अनुसार ट्रयाक ५ दिनभित्र पूरा भइसक्नेछ ।