धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) कैलालीले केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
धनगढी रंगशालामा मंगलबार भएको पहिलो खेलमा एनएसजेएफ कैलालीले धनगढी उपमहानगरपालिकाका जन प्रतिनिधिको टीमलाई ५-० ले पराजित गरेको छ । मञ्चका लागि सन्तोष रावतले दुई तथा महेन्द्र बम, दिपक उपाध्ययाय र प्रदीप पाठकले एक एक गोल गरे ।
दोस्रो खेलमा वैंकर्स क्लब धनगढीले निजामति कर्मचारीको आधिकारिक टेड युनियनमाथि रोमाञ्चक जित दर्ता गरेको छ । वैंकर्सले टेड युनियनमाथि ४-१ को जित दर्ता गरेको हो । वैंकर्सका लागि निशान थापाले दुई तथा महेश जोशी र अमन जोशीले एक एक गोल गरे । टेड युनियनका लागि सुर्य विष्टले एक गोल गरे ।
तेस्रो खेलमा कैलाली जिल्ला फुटबल संघले कैलाली उद्योग वाणिज्य संघमाथि ६-० को फराकिलो जित हात पारेको छ । फुटबल संघका लागि रगवेन्द्र कार्कीले दुई तथा महेश गोले, ओम प्याकुरेल, कुमार शाही र जितेन्द्र वोगटीले एक एक गोल गरे ।
प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार सहित टफी र मेडल पाउनेछन् । प्रतियोगितामा विभिन्न संघ संस्थाका आठ टीमको सहभागीता रहेको छ ।