काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् ।
सिंगापुरमा जारी तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत मंगलबार जिम्बावेविरुद्धको खेलमा १२ रन जोड्दै कप्तान पारस सन् २०१९ मा सर्वाधिक रन जोड्ने खेलाडीको शीर्ष स्थानमा उक्लिएका हुन् ।
कप्तान पारसले यस वर्ष ११ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ४०७ रन जोडेका छन् । र, कप्तान पारस आयरल्याण्डका केभिन ओ ब्रायनलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन् । केभिनले ११ खेलमा ३९७ रन जोडेका छन् ।
कप्तान पारसले यसअघि सिरिज अन्तर्गत सिंगापुरसँगको खेलमा १०६ रनको शतकीय इनिङ्स खेलेका थिए । केभिनलाई पछि बनाउन कप्तान पारसलाई २ रनको आवश्यकता थियो । जिम्बावेविरुद्ध १२ रन जोडेपछि कप्तान पारस शीर्ष स्थानमा उक्लिएका हुन् । तर, कप्तान पारसले जिम्बावेविरुद्ध नेपाललाई जित दिलाउन भने सकेनन् । नेपाल ४० रनले पराजित भएको थियो ।
यस वर्ष सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा पिएनजीका टिपी उरा रहेका छन् । उनले ३७८ रन बनाएका छन् ।
भारतीय कप्तान विराट कोहली १४ औं स्थानमा छ । यस वर्ष ७ खेलमा कोहलीले २८३ रन मात्र बनाएका छन् । टेष्ट राष्ट्रका खेलाडीहरु टेष्ट च्याम्पियनसिपमा व्यस्त रहदा एसोसियट राष्ट्रका खेलाडीहरु शीर्ष स्थानमा आएका हुन् ।
