काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले विश्वकप खेलिसकेको अष्ट्रेलियासंग आफुहरु खेल्न उत्साहित रहेको बताएका छन् ।
विश्वकप छनोट खेल्न अष्ट्रेलिया जानु अघि कप्तान लिम्बुले अष्ट्रेलिया बलियो टिम भएपनि आफुहरु खेल्नका लागि निकै उत्साहित रहेको बताए ।
‘विश्वकप खेलिसकेको अष्ट्रेलिया बलियो टिम हो । खेल्न उत्साहित छौं । हाम्रा लागि सौभाग्य पनि हो ।’ किरणले भने ।
नेपालले विश्वकप छनोट अन्तर्गत अवे खेलमा कुवेत र चाईनिज ताईपेसंग खेलिसकेको छ । अब तेस्रो अवे खेलमा अष्ट्रेलियासंग खेल्दैछ ।
कुुवेतसँग ७–० ले हारेको नेपालले बलियो मानिएको चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।
ताईपेबाट स्वदेश फर्किए लगत्तै मुख्य प्रशिक्षक जोहान कालिनले खेलाडीलाई नियमित अभ्यासमा बोलाएका थिए । उनीहरु ५ दिनको विश्रामपछि मैदान फर्किएका थिए ।
अन्य खेलाडी तयारीमा रहँदा किरण भारत पुगेका थिए । रोहित इन्डोनेशिया र विमल घर्ति मगर माल्दिभ्सको लिगमा व्यस्त थिए ।
कप्तान किरणले अष्ट्रेलियासँग खेल्न नेपाली टिम तयार रहेको बताउँदै गोर्खाली शक्ति अष्ट्रेलियामा देखाउने बताए ।
‘चाईपेसँगको खेल लगत्तै ५ दिनको आरामपछि तयारी सुरु गरेका छौं । मैले टिमसँग तयारी गर्न पाईन । तर टिमको तयारी राम्रो भएको छ । प्रशिक्षकको रणनीति बुझेर निर्धारित समयसम्म अष्ट्रेलियालाई बलियो टक्कर दिनेछौ ।’ उनले थपे, ‘एउटा भनाई छ । गोर्खे कहिल्यै हार्दैन । हामी तयारी छौं ।’

छनोटको समूह ’बी’ मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा खेल्नेछ । अष्ट्रेलियापछि नेपालले असोज २८ गते जोर्डनसँग खेल्नेछ ।
खेलाडीको बिदाईमा मुख्य प्रशिक्षक जोहान कालिनले बलियो टिम अष्ट्रेलिया र जोर्डनविरुद्ध जितको लागि कडा अभ्यास गरेको बताए । उनले योजना र तयारीका साथ दुवै देशविरुद्व उत्कृष्ट प्रर्दशन गर्ने बताए ।
‘नेपाली टिमले जितको लागि कडा अभ्यास गरेको छ । योजना बनाएर राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेर्छौ ।’ कालिनले भने ।
‘यो निकै लामो यात्रा हो । नेपाली टिम र अष्ट्रेलियाको टिममा धेरै फरक छ । हामी केहि सिक्न सक्छौं र राम्रोसँग सदुपयोग पनि गर्न सक्छौ । आशा गर्छु, हामी राम्रो प्रदर्शन गर्न सकौं । विपक्षी बलियो छ तर उनिहरुलाई जित्न कठिन पनि छैन । हामी हाम्रो उत्कृष्ट प्रदर्शन दिनेछौं ।’ उनले भने ।