काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगमा व्यक्तिगत स्पर्धामा उत्कृष्ट बनेका खेलाडी र प्रशिक्षकले पुरस्कार वापतको मोटरसाइकल र ५० हजार नगद पाएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्डै एक वर्षपछि मंगलबार उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई मोटरसाइकल र नगद प्रदान गरेको हो ।
लिगको प्रायोजन अधिकार लिएको रामसार मिडिया प्रालीले सहमति अनुसार मोटरसाइकल उपलब्ध नगराएपछि एन्फा आफैले खेलाडीलाई पुरस्कार दिएको हो ।
लिग गत पुष २४ गते सकिएको थियो । जसमा मनाङ मर्स्याङ्दी च्याम्पियन बनेको थियो ।
लिगमा मनाङका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, हेमन गुरुङ उत्कृष्ट मिडफिल्डर र सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिएका थिए । यस्तै थ्रीस्टारका रेजिन धिमाल उत्कृष्ट डिफेन्डर र आर्मीका भरत खवास उत्कृष्ट फरवार्ड चुनिएका थिए ।