एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इटालियन क्लब युभेन्ट्सले आज (मंगलबार) राति बायर लिभरकुसेनसँग प्रतिस्पर्धा गर्दैछ ।
इटालियन च्याम्पियन युभेन्ट्सले घरेलु मैदानमै जर्मन क्लब लिभरकुसेनको सामना गर्नेछ । समूह 'डी' मा रहेका दुई टोलीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युभेन्ट्स पहिलो जितको खोजीमा रहनेछ । युभेन्ट्सले पहिलो खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग २-२ गोलको बराबरी खेलेको थियो ।
पहिलो खेलमा १ अंक जोडेको युभेन्ट्स दोस्रो खेलमा भने स्पष्ट ३ अंकको खोजीमा हुनेछ । युभेन्ट्स समूहको तेस्रो स्थानमा छ ।
लिभरकुसेन भने पहिलो अंकको खोजीमा हुनेछ । पहिलो खेलमा रुसी क्लब लोकमोटिभ मस्कोसँग २-१ ले स्तब्ध लिभरकुसेन युभेन्ट्सविरुद्ध जित वा कम्तिमा बराबरीको लक्ष्यमा हुनेछ ।
यसै समूहको अर्को खेलमा एट्लेटिकोले मस्कोसँग उसैको मैदानमा खेल्नेछ । एट्लेटिको पहिलो जितको खोजीमा रहदा मस्को लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।