एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत स्पेनिस क्लब रियल मड्रिडले आज (मंगलबार) राति क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले घरेलु मैदानमा बेल्जियमको क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्ने छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १०:४० मा सुरु हुनेछ ।
घरेलु मैदानमा रियल पहिलो जितको खोजीमा हुनेछ । समूह चरणको पहिलो खेलमा पराजित रियल घरेलु मैदानमा पहिलो अंक जोड्न चाहन्छ ।
समूह चरणको पहिलो खेलमा रियल पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३-० ले पराजित भएको थियो । तर, क्लब ब्रुगविरुद्ध रियल उक्त गल्ति नदोहोर्याउने लक्ष्यमा हुनेछ ।
समुह 'ए' मा अंक विहिन रियल पुछारमा रहेको छ । १ अंक जोडेको क्लब ब्रुग भने दोस्रो स्थानमा छ । पहिलो खेलमा क्लब ब्रुगले गालातासारेसँग गोलरहित बराबरी खेलेको थियो ।
क्लब ब्रुग पनि पहिलो जित निकाल्ने योजनामा हुनेछ । त्यसैले पाहुना टोलीले रियललाई कठिन चुनौती दिनेछ ।
घरेलु मैदानमा रियलका ग्यारेथ बेल र जेम्स रोड्रिगेज टिममा हुने छैनन् । तर,सर्जियो राम्रोस, इस्को र मार्सेलो टिममा फर्किएका छन् ।
यस समूहमा ३ अंक जोडेको पीएसजी शीर्ष स्थानमा छ ।
पीएसजीले गालातासारेसँग उसैको मैदानमा खेल्नेछ । दुईबीचको खेल राति १२:४५ मा सुरु हुनेछ ।
पीएसजी लगातार दोस्रो जितको खोजीमा हुनेछ । १ अंक जोडेको गालातासारे दोस्रो जितको खोजीमा हुनेछ ।