एजेन्सी । फिओरेन्टिनाका भेट्रान विंगर फ्रान्क रिबेरी ३६ वर्ष पुगिसकेका छन् । तर, फ्रान्सका भेट्रान विंगर रिबेरीको उच्च प्रदर्शनमा कुनै कमि आएको छैन ।
इटालियन सिरी 'ए' अन्तर्गत आइतबार राति एसी मिलानविरुद्ध ३-१ को जित निकाल्दा रिबेरीले गोल समेत गरे । जर्मन क्लब वायर्न म्युनिखबाट यसै सिजन इटालियन क्लब पुगेका रिबेरीले उमेर पाको हुँदै जादा पनि उच्च प्रदर्शन गरिरहेका छन् ।
आफ्नो उमेर ढल्कदै गएपनि मैदानमा भने रिबेरीले आफुलाई युवा महसुस गर्ने गर्छन् । किनकी फुटबल उनको जीवन हो ।
'पक्कै पनि म बुढा भएको छु तर मैदानमा म युवा अनुभव गर्छु । फुटबल मेरो जीवन हो म यसलाई माया गर्छु,' मिलानविरुद्धको खेलपछि रिबेरीले भने ।

यस्तै रिबेरीले सान सिरोमा खेल्दै क्लबका लागि गोल गर्नु आफ्नो लागि निकै खुसीको कुरा रहेको बताए ।
'म धेरै खुसी छु । सान सिरो सधै विशेष छ । यो निकै ठुलो एरिना हो र धेरै समर्थक छ,' रिबेरीले भने, 'म फिओरेन्टिना आए र जितका लागि सहयोग गरे । म धेरै खुसी छु ।'
यस्तै रिबेरीले उत्कृष्ट प्रदर्शन गर्न आफुले सधै मेहेनत गर्ने बताए ।