काठमाडौँ। एसीसी प्रिमियर कप खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार मध्यरातमा स्वदेश फिर्ता हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली फ्लाई दुबईमार्फत बेलुका ६:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुने तालिका थियो।
तर, ओमानमा ३ घण्टा फ्लाइट डिले भएको क्यानले जनाएको छ। क्यानका अनुसार दुबईबाट पनि फ्लाइट डिले हुने सम्भावना भएको कारण टोली मध्यरातमा काठमाडौँ आइपुग्ने भएको हो।
गत वर्ष एसीसी प्रिमियर कपको उपाधि जित्दै भारत र पाकिस्तानसँग खेलेको नेपाल यसपटक सेमिफाइनलभन्दा माथि उक्लिन सकेन।
समूह चरणमा शतप्रतिशत जितसहित विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको थियो। समूह ‘बी’ मा रहेको मलेसियालाई ५, हङकङलाई ८ र साउदी अरबलाई नेपालले ६ विकेटले पराजित गरेको थियो। यस्तै, कतारलाई नेपालले ३२ रनले पराजित गरेको थियो।
तर, सेमिफाइनलमा फितलो ब्याटिङका कारण यूएईसँग ६ विकेटले पराजित भएसँगै नेपाल एशिया कपमा पुग्न असफल भयो। एसीसी इमर्जिङ टिम्स एशिया कपका लागि शनिबार भएको खेलमा पनि नेपालले उस्तै प्रदर्शन गर्यो। हङकङसँग भएको प्रतिस्पर्धामा नेपाल ४ विकेटले पराजित हुँदै चौथो स्थानमा खुम्चियो।