काठमाडौँ। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सविरुद्ध सहज जित हासिल गरेको छ।
बुधबार सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजित गरेको हो। गुजरातले दिएको ९० रनको लक्ष्य पछ्याएको दिल्लीले ८.५ ओभरमा ४ विकेट गुमाउँदै ९२ रन बनायो।
दिल्लीका ज्याक फ्रेसर म्याकग्रुकले सर्वाधिक २० रन बनाए। १० बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे। शाई होप १९ र अभिषेक पोरेल १५ रनमा आउट हुँदा कप्तान ऋषभ पन्त १६ रनमा अविजित रहे।
गुजरातक सन्दीप वारियरले सर्वाधिक २ विकेट लिए। स्पेन्सर जोन्सन र रासिद खानको नाममा १/१ विकेट रह्यो।
त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनायो।
गुजरातका रासिद खानले सर्वाधिक ३१ रन बनाए। २४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। शाई सुदर्शन १२ र राहुल तेवाटियाले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
दिल्लीका लागि मुकेश कुमारले सर्वाधिक ३ विकेट लिए।
ट्रिस्टन स्टब्स र इशान्त शर्माले २/२ विकेट लिँदा खलिल अहमद र अक्षर पटेलको नाममा १/१ विकेट रह्यो। जितसँगै ७ खेलमा ६ अंक जोडेको दिल्ली छैटौँ स्थानमा उक्लिएको छ। पराजित गुजरातको समान खेलबाट ६ अंक छ। गुजरात सातौँ स्थानमा छ।