काठमाडौँ। ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज दिल्ली क्यापिटल्सबाट १०० खेल खेल्ने पहिलो खेलाडी बनेका छन्। बिहीबार राजस्थान रोयल्ससँग खेल्दै उनले उक्त कीर्तिमान बनाएका हुन्।
पन्तले सन् २०१६ मा आईपीएलमा डेब्यु गरेका थिए। सोही वर्ष उनले यू–१९ विश्वकपमा भारतको नेतृत्व गरेका थिए। राजस्थानसँगको खेलअघि उनलाई टोलीका सहकर्मीहरूले विशेष जर्सी दिएका थिए। जर्सीमा पन्तको नामसँगै १०० लेखिएको थियो।
आफ्नो पहिलो सिजनबाहेक उनले हरेक वर्ष ३०० भन्दा बढी रन बनाएका छन्। सन् २०१६ मा उनले १० इनिङ्समा १९८ रन बनाएका थिए।
२०१७ मा भने १४ इनिङ्समा उनले २६६ रन बनाए। २०१८ को सिजनमा उनले १४ इनिङ्समा ५२.६२ को औषत र १७३.६० को स्ट्राइक रेटमा ६८४ रन बनाएका थिए।
दिल्लीका अन्य कुनै ब्याट्सम्यानले पन्तभन्दा बढी रन या छक्का (१२९)प्रहार गरेका छैनन्। हालसम्म खेलेका १०० खेलमा पन्तले ९९ इनिङ्समा एक शतक र १५ अर्धशतकसहित ३४.३३ को औसत र १४७.३६ को स्ट्राइक रेटमा २ हजार ८८४ रन बनाएका छन्। उनको उत्कृष्ट स्कोर १२८* हो।
दिल्लीका लागि डेभिड वार्नरले ८४ इनिङ्समा २ हजार ४८२ र वीरेन्द्र सेहवागले ८५ इनिङ्समा २ हजार ३८२ रन बनाएका छन्।
पन्तलाई दिल्लीले सन् २०२१ मा कप्तानी जिम्मेवारी दिएको थियो। कप्तानको रूपमा उनले १६ खेल जितेका छन् भने १५ मा हार बेहोरेका छन्। एक खेल भने बराबरीमा टुंगिएको छ।
सन् २०२० मा दिल्ली आईपीएलको फाइनलमा पुग्दा उनी टोलीमा थिए। तर, उपाधि भिडन्तमा दिल्ली मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो।