काठमाडौँ। नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकम अझै नपाएको गुनासो गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विश्वकपको तयारीका लागि भारतको वापी प्रस्थान गर्नुअघि नेपाली टोलीलाई विदाइ गर्न कार्यक्रम आयोजना गरेको थियो।
उक्त विदाइ कार्यक्रममा बोल्दै रोहितले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसमक्ष उक्त गुनासो पोखेका हुन्। विश्वकप छनोट खेल्दाताका सरकारले दिने भनेको रकम पनि नपाएको गुनासो रोहितले मन्त्री श्रेष्ठलाई सुनाए।
‘सरकारले रिवार्डको रुपमा सटेन एमाउन्ट तोक्नु भएको थियो। त्यसमा पनि ५०/६० प्रतिशत रकम मात्रै पाएका छौँ,’ उनले भने, ‘टी२० विश्वकप छनोटमा पनि रकम पुरस्कार दिने घोषणा गर्नुभएको थियो। तर, विश्वकप खेल्न जान १ महिना जतिमात्रै बाँकी छ। सो हजुर (मन्त्री)ले हेर्दिनुहुन्छ भन्ने विश्वास छ।’
गत कार्तिकमा घरेलु मैदानमा आयोजना भएको एशिया छनोटको सेमिफाइनलमा चिरप्रतिद्धन्द्धी यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले दश वर्षपछि विश्वकपमा स्थान पक्का गरेको थियो।
नेपालले आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सहभागिता जनाउने छ। यसअघि सन् २०१४ मा पारस खड्काको नेतृत्वमा नेपालले ऐतिहासिक रूपमा पहिलोपटक बंगलादेशमा विश्वकप खेलेको थियो।
टी–२० विश्वकपमा स्थान बनाएलगत्तै मन्त्रीपरिषद्को बैठकले खेलाडीलाई जनही ६ लाख र प्रशिक्षक र टिम अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णाय गरेको थियो।
खेलकुदमन्त्री श्रेष्ठले पुरस्कार राशिको प्रक्रियालाई अगाडि बढाउने आश्वासन दिए। राजनीतिक क्षेत्रमा भइरहेको अस्तव्यस्थताका कारण खेलाडीहरूलाई पुरस्कारबापतको रकम उपलब्ध गराउन असहज भएको उनको भनाइ थियो।
‘पुरस्कार राशिका कुराहरू छन्, सबै खेल क्षेत्रमा नै यो समस्या छ। हिजो भर्खरै त्यो प्रक्रियालाई अगाडि बढाउने कुरा भएको थियो। म आश्वासन चाहिँ दिन चाहन्न, किनभने छिटो पाउने भन्ने चिज नपाउँदा मन नै मरिसकेको हुन्छ। यो सबै चिज होल्ड पोल्टिकलमा भइरहेको चेन्जले होजस्तो लाग्छ,’ उनले भने।