काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करणमा खेलाडी छनोटका लागि 'ड्राफ्ट' गरिने भएको छ ।
खेलाडीको बारेमा टिमलाई पर्याप्त जानकारी नरहने भएकोले पहिलो संस्करणमा ड्राफ्टमार्फत खेलाडी छनोट गरिने नेपाल टी-ट्वान्टीका गभर्निङ काउन्सिलका एक सदस्यले जानकारी गराए ।
'टिमहरुले विभिन्न देशका खेलाडीसँग प्रस्ताव राखि रहेका छन्,' गभर्निङ काउन्सिलका एक सदस्यले खेलपाटीलाई भने, 'यसको जानकारी हामीलाई आईरहेको छ। ड्राफ्टका लागि खेलाडीहरुको वर्गीकरण भइरहेको छ। खेलाडीहरुलाई विभिन्न श्रेणीमा विभाजन भईरहेको छ ।'
खेलाडीको ड्राफ्ट आगामी महिनाको पहिलो सातामा गर्ने तयारी रहेको उनले बताए ।
एक टोलीमा जम्मा ११ जना नेपाली खेलाडी रहने छन् । टिम १६ जनाको बनाउनु पर्नेछ । हरेक टोलीले ५ जना विदेशी खेलाडी भित्र्याउन सक्नेछ।
पहिलो संस्करणको प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म संचालन हुनेछ ।
क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागीता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।