काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा मंगलबार पुलिसले प्रदेश ५ लाई ३-० को सेटमा पराजित गर्यो । पुलिसले प्रदेश ५ माथि २६-२४, २५-१५ र २५-१७ को सेटमा पराजित गर्यो ।
जितसंगै समूह 'ख' को पुलिसले २ खेलबाट ६ अंक जोडेको छ । र, समूहको दोस्रो स्थानमा रहेको छ । प्रदेश ५ को यो लगातार दोस्रो हार हो ।
यस समूहमा ९ अंक जोडेको गण्डकी प्रदेश शीर्ष स्थानमा रहेका छन् । गण्डकीले मंगलबार नै कर्णाली प्रदेशलाई २५-२१, २७-२५ र २५-१४ को सेटमा पराजित गर्दै तेस्रो जित निकालेको थियो ।
यस्तै समूह 'क' बाट लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो । एपीएफले सुदुरपश्चिममाथि २५-१७, २५-८ र २५-१७ को सेटमा जित निकाल्यो ।
यो जितसंगै समूहको दोस्रो स्थानमा रहेको एपीएफले २ खेलबाट ६ अंक जोडेको छ ।
यस समूहमा ३ खेलमा ३ जितसहित ९ अंक जोडेको आर्मी शीर्ष स्थानमा रहेको छ । आर्मीले मंगलबार भएको खेलमा प्रदेश नम्बर २ लाई २५-१५, २५-१२ र २५-१३ को सेटमा हराएको थियो ।
नेपाली सेनाको आयोजनामा जारी प्रतियोगितामा ३ विभागीय टिम (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ) सहित सात प्रदेशका गरि १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।