काठमाडौं । आयोजक त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार तेस्रो जित हात पारेका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा मंगलबार आर्मीले प्रदेश नम्बर २ लाई ३-० को सोझो सेटमा पराजित गर्यो । तेस्रो जित निकाल्ने क्रममा आर्मीले प्रदेश २ लाई २५-१५, २५-१२ र २५-१३ को सेटमा पाखा लगायो ।
जितसंगै समूह 'क' को आर्मीले ३ खेलबाट ९ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको आर्मीले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । २ खेलमा पराजित प्रदेश २ ले अंक जोड्न सकेको छैन ।
यस्तै मंगलबार नै भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै तेस्रो जित हात पार्यो । गण्डकीले कर्णालीलाई २५-२१, २७-२५ र २५-१४ को सेटमा पराजित गर्यो ।
जितसंगै समूह 'ख' को गण्डकीले ३ खेलबाट ९ अंक जोडेको छ । यस समूहमा गण्डकी शीर्ष स्थानमा रहेको छ । तेस्रो जितपछि गण्डकीले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । कर्णालीले २ खेलमा जित निकाल्न सकेको छैन ।
प्रतियोगिता अन्तर्गत आजै थप दुई खेल हुनेछ । अपरान्ह हुने दुई खेलमा एपीएफ र सुदुरपश्चिम तथा नेपाल पुलिस र प्रदेश ५ बीच खेल हुनेछ ।
नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।