काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सोमबार पुलिसले प्रदेश ६ लाई ३-० को सेटमा पराजित गर्यो । पुलिसले प्रदेश ६ माथि २५-१५, २५-२१ र २५-१५ को सेटमा पराजित गर्यो ।
यस्तै एपीएफले प्रदेश २ लाई ३-० को सोझो सेटमा पराजित गर्यो । एपीएफले प्रदेश २ माथि २५-१९, २५-१४ र २५-१४ को सेटमा जित निकाल्यो ।
नेपाली सेनाको आयोजनामा जारी प्रतियोगितामा ३ विभागीय टिम (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ) सहित सात प्रदेशका गरि १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।