काठमाडौं । पोखराको स्पाइरल ग्यालेक्सी स्कुल र विद्यामन्दिर बाग्लुङ राजधानीमा जारी प्रथम एन्जल्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा आइतबार भएको खेलमा स्पाइरलले गीतान्जली कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । स्पाइरलले पहिलो सेट २५–२१ ले जितेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा २६–२४ को जित निकालेको स्पाइरलले तेस्रो सेट २५–२१ ले जित्न सफल भएको थियो ।
आइतबारको अर्काे खेलमा विद्यामन्दिर बाग्लुङले स्प्रिङडेल भक्तपुरलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । पहिलो सेट २२–२५ ले गुमाएको विद्यामन्दिरले त्यसपछिको तीनै सेट २५–२१, २५–२१ र २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
लिटिल बुद्ध मावि महेन्द्रनगरले जनप्रभात मावि कालिकोटमाथि ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा लिटिलबुद्ध मावि १७–२५, २५–७, २५–२२, २१–२५ र १७–१५ ले विजयी भयो ।
पिताम्वर मावि स्याङ्जाले एन्जल्र्स हर्ट स्कुललाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्न सफल भयो । पिताम्वरले २५–२०, २५–२०, १५–२५, २१–२५ र १५–११ को जित निकाल्यो ।
सामाखुशी इंग्लिस बोर्डिङ स्कुलले सिद्धार्थ बहुमुखी क्याम्पसमाथि २२–२५, २५–२२, २५–२२ र २५–२० को जित निकाल्दै अन्तिम अन्तिम आठमा पुग्न सफल भयो ।
प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ ।