काठमाडौं । सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र न्युटन हाई स्कुल राजधानीमा जारी प्रथम एन्जल्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शनिबार भएको खेलमा सेवले एन्जल्स हर्ट कलेजलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो ।
शनिबारै भएको अर्काे खेलमा न्युटन हाई स्कुलले ग्ल्यासियर इन्टरनेसनल कलेजलाई २५–१७, २५–२० र २५–२० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो ।
सिद्धार्थ मल्टिपल क्याम्पसले नेरिक हाई स्कुलमाथि ३–१ को जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो ।
जनप्रभात मावि कालकोटले लक्ष्मी मावि बाग्लुङलाई २५–२०, १९–२५, २८–२६ २५–२१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।
यस्तै विद्यामन्दिर मावि बाग्लुङले जानकी मावि चितवनलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो ।
थ्री स्टार एकेडेमी र लालीगुराँस नेसनल एकेडेमीबीचको खेल वर्षाका कारण रद्द भयो । शुरुका दुवै सेट थ्री स्टारले आफ्नो पक्षमा पारेपनि वर्षाका कारण खेल रोकिएको थियो ।
प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ ।