गोरखा। गण्डकीस्तरीय प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने भएका छन्।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका मंगलबार सम्पन्न पहिलो सेमिफाइनमा कास्कीलाई ३-१ को सेटमा पराजित गर्दै म्याग्दी उपाधिनजिक पुगेको हो।
पहिलो र दोस्रो सेट म्याग्दीले २५-१३ र २५-१७ ले जितेको थियो। तर, प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट भने कास्कीले २०-२५ ले आफ्नो बनायो। चौथोमा भने म्याग्दीले २५-१७ को अंकसहित पुनरागमन गर्दै फाइनलमा स्थान पक्का गर्यो।
दोस्रो सेमिफाइनलमा पर्वतले स्याङ्जलाई ३-० सोझो सेटमा पराजित गर्यो। पर्वतले २५-१२, २५-१६ र २५-१६ ले तीन सेट सहजै जितेको थियो।
म्याग्दीले क्वार्टरफाइनलमा नवलपुरलाई २५-१८ र २५-१३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। यस्तै, पर्वतले तनहुँलाई २५-१३ र २५-१३ ले पाखा लगायो।
सेमिफाइनलबाट बाहिरिएका कास्की र स्याङ्जाले तेस्रो स्थानका लागि खेल्ने छन्। कास्कीले क्वार्टरफाइनलमा आयोजक गोरखालाई २५-१८ र २५-१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।
यस्तै, बाग्लुङलाई २५-२० र २५-१९ ले पाखा लगाउँदै स्याङ्जा अन्तिम चारमा पुगेको थियो।