निजगढ । बिद्यासागर माध्यमिक अङ्ग्रेजी बोर्डिङ स्कुल निजगढ नगर स्तरिय अन्तर बिद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न खेलमा आयोजक निजगढ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै बिद्यासागर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १९ औ मिनेटमा कप्तान रोशन लामाले फ्रीकिक मार्फत गोल गर्दै बिद्यासागरलाई अग्रता दिलाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको ३५ औं मिनेटमा आरुस थापाले गोल गर्दै बिद्यासागरको अग्रता दोब्बर बनाए । निजगढ फुटबल क्लबका कप्तान अङ्कित चौधरीलेले ३९ औ मिनेटमा प्राप्त पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि थप गोल हुन नसक्दा खेल २-१ गोल अन्तरले बिद्यासागरले जित्यो ।
खेलको म्यान अफ द म्याच बिद्यासागरका आरुस थापा घोषित भए ।
प्रतियोगिता अन्तर्गत बिहिवार हुने क्वार्टरफाइनलमा श्री गौरीशंकर माध्यमिक बिद्यालय सहिद चोक ए र श्री गौरीशंकर माध्यमिक बिद्यालय सडकटोलबिच प्रतिस्पर्धा हुनेछ ।
निजगढ फुटबल क्लबद्वारा आयोजित प्रतियोगितामा निजगढ नगरपालिका भित्रका १० वटा बिद्यालयका १२ वटा टिमको सहभागिता रहेको छ ।