काठमाडौँ। अभिषेक गौतमको कसिलो बलिङसँगै लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ।
सोमबार सम्पन्न खेलमा कर्णालीलाई ३१ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो। लुम्बिनीले दिएको ११७ रननको लक्ष्य पछ्याएको कर्णालीले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनायो।
कर्णालीका विपन शाहीले सर्वाधिक २८ रन बनाए। १८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। विपिन रावल २३ रनमा आउट हुँदा दीपेन्द्र रावत १२ रनमा अविजित रहे। कर्णालीका अन्य कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
लुम्बिनीका अभिषेक गौतमले सर्वाधिक ५ विकेट लिए। ३.३ ओभर बलिङ गरेका उनले १० रन मात्रै खर्चिए।
नर सार्कीले २ विकेट लिँदा देव खानाल र निर्मल गुरुङको नाममा १/१ विकेट रह्यो।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११६ र बनाएको थियो।
लुम्बिनीका मृणाल गुरुङले सर्वाधिक २७ रन बनाए। ३० बल खेलेका उनले ३ चौका प्रहार गरे।
विराट भण्डारी २६ र कृष्ण कार्की २२ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
कर्णालीका युनिस ठकुरीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। दिनेश अधिकारी र दिवश पुनले २/२ विकेट लिँदा प्रकाश जैशीको नाममा १ विकेट रह्यो।