काठमाडौँ। साबिक विजेता एपीएफले ललितपुर मेयर्स कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा लिग चरणको सबै खेलमा शतप्रतिशत जित हासिल गरेको छ।
बिहीबार सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो।
जितसँगै यसअघि नै फाइनलमा स्थान बनाइसकेको एपीएफले ४ खेलमा ८ अंक बटुलेको छ। सुदूरको ३ खेलमा ४ अंक छ भने समान खेलबाट आयोजक ललितपुर मेयर्स-११ र कोशी प्रदेशको २/२ अंक छ। कोशी प्रदेश भने अंकविहीन छ।
सुदूरले दिएको ११२ रनको लक्ष्य एपीएफले १९.४ ओभरमा ७ विकेट गुमाएर भेट्टायो। एपीएफी ममता चौधरीले सर्वाधिक ३२ रन बनाइन्।
३४ बल खेलेकी उनले ४ चौका प्रहार गरिन्। रोमा थापा २३, सरिता मगर १९ र रजमती ऐरी ११ रनमा आउट हुँदा बिन्दु बूढा ५ रनमा अविजित रहिन्।
सुदूरकी बिन्दु रावल र स्नेह महराले २/२ विकेट लिइन्। ऋतु कनौन्जिया र लक्ष्मी सुवेदीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनाएको थियो।
सुदूरकी कप्तान बिन्दु रावलले सर्वाधिक ३६ रन बनाइन्। ५१ बल खेलेकी उनले १ चौका र १ छक्का प्रहार गरिन्।
कविता जोशी र ओपनर रुबि पोडारले २९/२९ रन थपिन्। एपीएफकी रेखा रावल र इन्दु वर्माले समान १/१ विकेट लिइन्।