पोखरा। कंगारु एजुकेशन फाउन्डेसन टी–२० छात्रा क्रिकेट प्रतियोगितामा सिद्ध मावि र कालिका मावि विजयी भएका छन्।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो।
पहिला ब्याटिङ गरेको सिद्धले पूरा २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो। उसका लागि रचना चौधरीले ४८ रन हानिन्। एलिना श्रेष्ठले ११ रन बनाइन्। लक्ष्मी माविको बलिङमा सुनिता घिसिङले २ तथा सुप्रिया गुरुङले १ विकेट लिइन्।
१३१ रनको लक्ष्य पाएको लक्ष्मी माविले १२.४ ओभरमा ६२ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। लक्ष्मीका प्रीति भट्टराईले १० तथा मोनिका जसवालले ७ रन बनाए। सिद्धका बलर रचना चौधरीले २ रन खर्चिएर ७ विकेट लिइन्। सुशीला दिमडुङले २ रन खर्चिएर ४ विकेट लिइन्। खेलमा रचना सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन्।
अर्को खेलमा कालिकाले सिर्जना माविलाई १ सय ४१ रनले पराजित गर्यो। पहिला ब्याटिङ गरेको कालिकाले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रनको विशाल योगफल तयार पारेको थियो।
सो खेलमा कालिकाकी रिया गुरुङले प्रतियोगिताकै पहिलो शतकीय इनिङ्स खेल्दै अविजित १०१ रन प्रहार गरिन्। कृष्टा तिलिजा पुनले ३६ रन बनाइन्। सिर्जनाका बलर सुस्मिता पौडेलले १ विकेट लिइन्।
प्रत्युत्तरमा सिर्जनाको इनिङ्स ८२ रनमै समेटियो। कालिकाकी बलर श्रद्धा गुरुङले ५ तथा पूर्णिमा गुरुङ र अञ्जना सिम्खडाले समान २ विकेट लिए। खेलमा प्रतियोगिताकै पहिलो शतक प्रहार गरेकी रिया गुरुङ सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन्।