काठमाडौं । नेपाल गोजु काई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ ।
दुईदिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ । बाँकी स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ ।
प्रतियोगितामा महिला र पुरुषको १०÷१० तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । २० जिल्ला तथा डोजोहरुबाट २ सय ९ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कातातर्फ पनि पुरुष र महिलामा प्रतिस्पर्धा हुनेछ । यसपल्ट भेट्रान्स प्रतियोगिता पनि समावेश गरिएको छ । शारीरिक रुपमा फिट रहेका ४० वर्ष नाघेका खेलाडीहरुका लागि यो विधा थपिएको आयोजक संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।
चावहिल चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा आयोजित प्रतियोगिताको पुरुष ३० केजीमुनि तौलसमूहमा आयुश राई (आनन्दनगर डोजो) ले स्वर्ण जिते । उनले फाइनलमा सोनाम तामाङ (मित्रपार्क डोजो) लाई पराजित गरे । ३५ केजीमुनि अविजित पहारी (नागार्जुन डोजो) लाई हराएर अनायन मानन्धर (ठैब डोजो) ले स्वर्ण जिते ।
पुरुष ४० केजीमूनि रोजन तामाङ (शंखडोल एकेडेमी) ले स्वर्ण जित्दा अन्मेष थेवे (मित्रपार्क डोजो) रजतमा सीमित भए । ४५ केजीमा विकेश मोक्तान (जोरपाटी डोजो) ले स्वर्ण जिते । उनले फाइनलमा सुनील ठगुन्ना (साउथ भ्याली स्कुल) लाई हराए । ५० केजीमा विनोद श्रेष्ठ (मानसिंह डोजो) ले स्वर्ण तथा मिलन तामाङ (नेपाल हायसी–हा कराँते) ले रजतमा चित्त बुझाए ।
महिलातर्फ ३० केजीमा अनु मोक्तान (मानसिंह डोजो)ले स्वर्ण जित्दा विलाशा पहारी (नागार्जुन डोजो) रजतमा सीमित भइन् । ३५ केजीमा अस्मिता मोक्तान (आनन्दनगर डोजो)ले स्वर्ण र कुन्साङ राई (मित्रपार्क डोजो)ले कांस्य जितिन् ।
यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौं कमहागरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोलले गरेका थिए । वल्र्ड युनाइटेड मार्सल आर्ट (उमा) अन्तर्गत रहेको गोजु काई कराँतेको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको हो । उनले राष्ट्रियस्तरमा व्यवस्थित प्रतियोगिता आयोजना गरेकोमा संघलाई धन्यबाद समेत दिएका थिए ।